वीरेन्द्रनगर (सुर्खेत) ः नेपाल कम्युनिष्ट पार्टी (एमाले) सम्बद्ध अखिल नेपाल महिला संघ कर्णाली प्रदेश कमिटीले संगठन चलाउन ‘थैली अभियान’ सुरु गरेको छ । पार्टी तथा जनवर्गीय संगठन सशक्तीकरण एवं सुदृढीकरणका लागि आर्थिक रुपमा सबल तथा आत्मनिर्भर हुनुपर्ने महसुस गरी थैली अभियान सुरु गरेको अनेमसंघ कर्णालीले स्पष्ट गरेको छ ।
अनेमसंघ कर्णाली प्रदेश कमिटीका अध्यक्ष पद्मा खड्काका अनुसार आर्थिक अभावका कारण संगठन सञ्चालनमा देखिएको कठिनाइलाई सामना गर्न सुरु गरिएको अभियान फलदायी एवं उपलब्धिमूलक भएको छ । थैली अभियानको औपचारिक सुरुआत नेकपा (एमाले) कर्णाली प्रदेशका पूर्वअध्यक्ष गुलाबजङ्ग शाह र पूर्वप्रदेश इन्चार्ज लेखराज भट्टबाट भएको हो । पार्टी कमिटीको २०८० असोज ९ गते सम्पन्न दोस्रो बैठकमा नेताद्वयले थैलीमा हजार÷हजार रुपैयाँ राखेर अभियान शुभारम्भ गर्नुभएको अध्यक्ष खड्काले जानकारी दिइन् । त्यसपछि खाजा खाएर फिर्ता भएको रकम थैलीमा राख्ने क्रमले निरन्तरता पाएको छ ।
‘सुरुमा सानो लाग्थ्यो पाँच रुपैयाँ, १० रुपैयाँ तर नियमितता, प्रतिबद्धता र सामूहिक प्रयासले थैली अभियान आर्थिक व्यवस्थापनको आधार बनेको छ, थैली अभियानको अभ्यास सरल देखिन्छ । खाजा खाँदा फिर्ता भएको पैसा जम्मा गर्नु, तर यसको पछाडि गहिरो सोच, सङ्गठनप्रतिको प्रतिबद्धता र आत्मनिर्भर बन्ने प्रयास लुकेको छ,’ खड्काले भनिन् ‘हाम्रो उद्देश्य प्रस्ट छ । सशक्त सङ्गठन निर्माण, आर्थिक आत्मनिर्भरता र महिला नेत्रीहरूको एकतामा आधारित आन्दोलनको सुदृढीकरण, हामीले देख्यौँ कि सहयोगीहातहरू टाढा छैनन्, रकम हाम्रो खल्तीमै छ । सङ्घीयता आयो, महिलाको प्रतिनिधित्वसहित नेतृत्वले स्थान पायो, तर आर्थिक स्रोत कमजोर रहेसम्म सङ्गठन बलियो हुँदैन भन्ने बुझेर हामी आफैँले बाटो खोल्यौँ र थैली अभियान सुरु ग¥यौँ ।’
संगठन चलाउन आर्थिक चुनौती बढ्दै गएपछि अनेमसंघ कर्णाली प्रदेशकी अध्यक्ष खड्काले देखेको थैली अभियान अहिले सशक्त बन्दै गएको छ । अध्यक्ष खड्का भन्छिन् ‘हाम्रो अभियान भनेको समस्या देखाएर होइन, समाधान खोजेर अगाडि बढ्ने हो । थैली अभियान त्यसैको एउटा ज्वलन्त उदाहरण हो ।’ ‘थैलीमा जम्मा हुने प्रत्येक रुपैयाँको मूल्य केवल पैसामा मात्र तुलना गर्न नमिल्ने बताउँदै खड्का भन्छिन् ‘त्यो त विश्वास, त्याग र सङ्गठनप्रतिको प्रेम र समपर्ण हो ।’
अहिले अनेमसंघ कर्णालीमा प्रदेशका १० वटै जिल्लाबाट प्रतिनिधित्व हुने ५४ सदस्यीय कमिटी छ । ती सबै सदस्यहरूले खाजाको फिर्ता रकम नियमित रूपमा थैलीमा हालिरहेका छन् । पहिलो पटकको थैली संकलनका क्रममा १५ हजार रुपैयाँ जम्मा भएको थियो । त्यसको निरन्तरतापछि हालसम्म ६० हजार रुपैयाँ संकलन भइसकेको अध्यक्ष खड्काले जानकारी दिइन् ।
‘महिलाका हातमा परेको थैली आज सङ्गठन सशक्तीकरणको बलियो हतियार बनेको छ । संघको बैठक, तालिम, जनचेतनालगायतका कार्यक्रम सञ्चालन गर्दा लगानी गर्ने स्रोतका रूपमा थैलीको प्रयोग गर्दै आइरहेका छौँ,’ उनले भनिन् ‘यसले अनेमसंघभित्र आर्थिक अनुशासनमात्रै होइन, समान उत्तरदायित्वको संस्कार पनि विकास भइरहेको छ ।’ मुलुकको विकासजस्तै संगठनको विकास पनि आफैँबाट सुरु गर्नुपर्ने अध्यक्ष खड्काको भनाइ छ ।
थैली अभियानबाट संकलित रकक कोषाध्यक्षको जिम्मामा छ । तर, अब छिट्टै बैंक खाता सञ्चालन गरी, लेखापरीक्षण प्रणालीमार्फत पारदर्शी रुपमा कोषको व्यवस्थापन गरिने संघले स्पष्ट गरेको छ । ‘हामी रकम जम्मा मात्रै गरिरहेका छैनौँ, त्यो रकम पारदर्शी ढङ्गले चलाउने प्रतिबद्धता पनि हाम्रो अभियानकै हिस्सा हो,’ अध्यक्ष खड्का भन्छिन् ।
संघले आर्थिक अनुशासन कायम गर्न पदाधिकारीहरूबाट १०० रुपैयाँ र सदस्यहरूबाट ५० रुपैयाँ ‘लेवी’ पनि संकलन गर्नेगरेको छ । यस्तै, अनेमसंघले २६१ वटा टोल कमिटीहरू पनि गठन गरिसकेका छ । हालसम्म कर्णाली प्रदेशमा ३० हजार सदस्यता वितरण गरिएको छ, जसमध्ये सात हजार सदस्य औपचारिकरूपमा आबद्ध भइसकेका छन् । अध्यक्ष खड्काका अनुसार संगठनको लक्ष्य २० हजार सक्रिय सदस्य बनाउने र प्रदेशस्तरीय सम्मेलन आयोजना गर्ने रहेको छ । उनले अब संघको आफ्नै मुखपत्र प्रकाशन गर्ने योजना अघि बढेको र त्यसबाट विज्ञापन संकलन गरी आर्थिक स्रोतको विविधीकरण गर्ने सोच बनाइएको बताइन् ।
‘कर्णालीजस्तो भौगोलिक हिसावले दुर्गम र पछि परेको, आर्थिक एवं शैक्षिक रुपमा कमजोर प्रदेशमा पार्टी सङ्गठन सञ्चालन गर्नु सजिलो छैन । अझ महिलाको नेतृत्वमा राजनीतिक संगठन चलाउनु त थप चुनौतीपूर्ण छ । तर अनेमसंघ कर्णालीको यो अभियान अरु सामाजिक, राजनीतिक सङ्घसंस्थाका लागि भने अनुसरणयोग्य हुने विश्वास लिएकी छु,’ अध्यक्ष खड्काले भनिन् । थोरै रकमको निरन्तर बचतले ठूलो परिवर्तन सम्भव छ भन्ने उदाहरण थैली अभियानले दिएको उनको भनाई छ ।









